दैलेख : दैलेखको भगवतिमाई गाउँपालिका–३ मेहेलतोली (साविक) को मेहेलतोली गाउँपञ्चायत–६ का कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
गृह मन्त्रालयले सोमबार नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि कविराम आफ्नो नाम सच्याउन दैलेख प्रशासनमा मंगलबार निवेदन दिएका हुन् ।
कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पु¥याएर कविरामलाई नयाँ नागरिकता प्रदान गरिने बताए ।
प्रमुख जिल्ला अधिकारीले प्याकुरेलले अपमानजनक शब्द प्रयोग गरि जारी भएका नेपाली नागरिकता सच्चाउने व्यक्तिहरु प्रशासनको सम्पर्कमा आउन आव्हानसमेत गरेका छन् । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जानिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्देशन दिएको थियो ।
अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन मन्त्रालयल मन्त्रालयले आदेश दिएको थियो ।










